जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार २०:१३

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र मुलुकको हित लागि सबै खालको त्याग गर्न तयार छु : शेरबहादुर देउवा


काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक अहिले गम्भीर सङ्कटबाट गुज्रिरहेको बताउँदै कांग्रेसभित्रको विवादले देश र लोकतान्त्रिक व्यवस्थामै सङ्कट निम्त्याउन सक्ने बताउनुभएको छ। उहाँले पार्टीभित्र देखिएका असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गरी कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ।

शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक अवस्था कठिन बन्दै गएको र नागरिकमा निराशा बढिरहेको बताउनुभयो । 

उहाँले विगतमा भएका सबै उपलब्धिलाई अस्वीकार गर्दै ‘केही पनि भएको थिएन, सबै खराब थियो’ भन्ने भाष्य निर्माण गर्नुले मुलुकलाई झन् कठिन अवस्थामा पुर्‍याउने बताउनुभयो। विगतका उपलब्धि र राजनीतिक परिवर्तनबारे समाजमा गम्भीर छलफल गर्ने समय आएको उहाँको भनाइ थियो। “विगतमा केही पनि भएको थिएन, सबै खराब भएको थियो भन्ने हो भने क्षणिक रमाइलो त होला, तर मुलुक झन्–झन् अप्ठेरो अवस्थामा जान्छ,” उहाँले भन्नुभयो। उहाँले यस्तो भ्रम चिर्न समाजमा व्यापक छलफल र बहस आवश्यक रहेको बताउनुभयो।

सभापति देउवाले अहिलेसम्म नेपालमा भएका राजनीतिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको उल्लेख गर्दै त्यसप्रति पार्टीलाई गौरव रहेको बताउनुभयो। राजनीतिक परिवर्तनमा अन्य राजनीतिक दलको सहभागिता र योगदान पनि सम्मानयोग्य रहेको उहाँले उल्लेख गर्नुभयो।

कांग्रेसभित्र अहिले चरम विवाद रहेको स्वीकार गर्दै उहाँले विवाद अदालतमा विचाराधीन रहेकाले आफूले यस विषयमा धेरै टिप्पणी गर्न नचाहेको बताउनुभयो। यद्यपि अदालतबाट न्याय प्राप्त हुनेमा आफू विश्वस्त रहेको उहाँले स्पष्ट पार्नुभयो। “कांग्रेसभित्रको विवादले देश र व्यवस्था नै संकटमा पर्न सक्छ। त्यसैले पार्टीभित्र देखिएका असहमतिलाई सबैको भावना समेट्ने गरी सहमतिमा ल्याउनुपर्छ,” उहाँले भन्नुभयो। कांग्रेसको लामो इतिहास र योगदानलाई पार्टी एकताको आधार बनाउनुपर्ने उहाँको धारणा थियो।

सभापति देउवाले राष्ट्र, राष्ट्रियता, मुलुकको हित र लोकतन्त्रका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताउनुभयो। सङ्कटको समयमा संवाद, सहमति र सहकार्यलाई राजनीतिक संस्कार बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। “राष्ट्र, राष्ट्रियता, मुलुकको हित र लोकतन्त्रका लागि सबै खालको त्याग गर्न तयार छु,सङ्कटको समयमा संवाद, सहमति र सहकार्य हाम्रो राजनीतिक संस्कार बन्नुपर्छ,” उहाँले भन्नुभयो।

मुलुक प्राकृतिक विपत्तिसमेत परेको उल्लेख गर्दै सभापति देउवाले विपद्का कारण नागरिक दयनीय अवस्थामा जीवन बिताउन बाध्य भएको बताउनुभयो। कतिपयको ज्यान गएको उल्लेख गर्दै उहाँले प्रभावित नागरिकका लागि तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो।

आफ्नो विगतको राजनीतिक संघर्ष स्मरण गर्दै देउवाले तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा आफूले प्रजातन्त्रको पक्षमा कुनै पनि सम्झौता गर्न नसक्ने अडान लिएको बताउनुभयो। त्यसकै कारण आफू जेल परेको भए पनि अदालतबाट रिहा भएको उल्लेख गर्दै उहाँले न्यायपालिकाप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउनुभयो। “मलाई अदालतप्रति पूरा विश्वास छ। हामीले न्याय पाउँछौँ,” उहाँले भन्नुभयो।

तत्कालीन राजा ज्ञानेन्द्रको व्यवहारकै कारण नेपालमा गणतन्त्र स्थापना भएको दाबी गर्दै देउवाले अहिले पनि देश र लोकतन्त्रकाे रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्न आह्वान गर्नुभयो।

“अहिले पनि देश र लोकतन्त्रका निम्ति लड्नुपर्ने बेला आएको छ। सबै साथीहरू एकजुट भएर लागौँ,” उहाँले भन्नुभयो।