काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विशेष महाधिवेशन विधान र विधिसम्मत ढङ्गले सम्पन्न नभएको बताउनुभएको छ। उहाँले कांग्रेसलाई विधि, विधान र नियमअनुसार अघि बढाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा कांग्रेस इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले विशेष महाधिवेशन र नियमित महाधिवेशनको पक्षमा पार्टी विभाजित हुनु दुःखद भएको बताउनुभएको हो।
उहाँले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै कांग्रेसको वैधानिक निरन्तरता कायम गर्न १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै आगामी १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो। “विशेष महाधिवेशन विधिसम्मत र पार्टीको विधानसम्मत भएको होइन। पार्टीलाई विधिसम्मत र नियमसम्मत तरिकाले अगाडि बढाउनु अहिलेको मुख्य आवश्यकता हो,” नेता सिंहले भन्नुभयो।
विशेष महाधिवेशन र नियमित महाधिवेशनको पक्षधरका रूपमा कांग्रेस विभाजित हुनु पार्टीका लागि दुःखद अवस्था भएको उहाँले बताउनुभयो। पार्टीभित्रको विवादलाई थप बढाउनुभन्दा विधि र विधानअनुसार समाधान खोजिनुपर्नेमा उहाँले जोड दिनुभयो।
नेता सिंहले कांग्रेसको वैधानिक निरन्तरताका लागि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको भूमिकालाई निरन्तरता दिनुपर्ने बताउनुभयो। आगामी १५औँ महाधिवेशन पनि सोही कार्यसमितिले सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो।
नेपाली कांग्रेसले आफ्नो लामो राजनीतिक इतिहासमा अनेकौँ कठिन परीक्षाको सामना गर्दै सफलता हासिल गरेको स्मरण गराउँदै सिंहले अहिले पनि पार्टीलाई सही मार्गमा अघि बढाउन सबै नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्ने बताउनुभयो।
उहाँले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै कांग्रेसलाई थप सुदृढ बनाउन सबै पक्षबीच एकता र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।













प्रतिक्रिया दिनुहोस्