रोल्पा, साउन ३० । रोल्पामा विपद्का विभिन्न घटनामा परी दुई दिनमा १५ जनाको मृत्यु भएको छ।
थवाङ र सुनछहरी गाउँपालिकामा गएको पहिरोमा परी १४ जनाको मृत्यु भएको हो। यस्तै, लुङग्री गाउँपालिका–१ खदरमा बिहीबार राति चट्याङ लागेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार बेलुकी गएको पहिरोमा परी १० जनाको मृत्यु भएको थियो। घटनामा बेपत्ता तीन जनाको अवस्था अझै अज्ञात छ भने घाइते दुई जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, सुनछहरी गाउँपालिका–२ फलबाङमा बिहीबार राति गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ। पहिरोमा परी मृत्यु हुनेमा ७७ वर्षीय वीरबहादुर घर्ती मगर, उहाँकी ६८ वर्षीया श्रीमती शनी घर्ती मगर, छिमेकी ७० वर्षीया लली घर्ती मगर र ६४ वर्षीया लामी घर्ती मगर रहनुभएको प्रहरीले जनाएको छ।
पहिरोले फलबाङमा दुई वटा घर पूर्ण रूपमा क्षति पुर्याएको थियो। बेपत्ता लामी घर्ती मगरको शव शुक्रबार खोजीका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
यस्तै, लुङग्री गाउँपालिका–१ खदरमा बिहीबार राति घरमै बसिरहनुभएका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
अविरल वर्षापछि आएको पहिरो तथा चट्याङका कारण जिल्लाका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्