काठमाडौं, साउन ३० । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ।
भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ गएका थिए। राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमालगायतका क्षेत्रमा करिब एक मिनेटसम्म शक्तिशाली धक्का महसुस गरिएको थियो।
प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो क्षति भएको खबर प्राप्त भएको छैन।
बीएमकेजीका अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको थियो। करिब १५ किलोमिटर गहिराइमा गएको भूकम्पपछि लगातार परकम्पसमेत आएका थिए।
भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएमकेजीले जनाएको छ।
यसैबीच, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले उक्त समुद्री भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप वा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ।
इन्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो। प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’ का कारण यहाँ बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन्।













प्रतिक्रिया दिनुहोस्