काठमाडौं, साउन ३० । मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिलानीले दाम्पत्य जीवनमा सुख, प्रेम र सौहार्दको कामनासहित आज मधुश्रावणी पर्व समापन गर्दैछन्।
साउन कृष्ण पञ्चमी अर्थात् मौनापञ्चमीका दिनदेखि सुरु भएको मधुश्रावणी पर्व साउन शुक्ल तृतीयाका दिन समापन गर्ने मैथिल परम्परा छ। विवाह भएको पहिलो वर्ष नवविवाहिताले माइतीघरमा बसेर यो पर्व मनाउने चलन रहेको छ।
पर्वमा पतिपत्नीबीच प्रगाढ प्रेम र सम्बन्ध कायम रहोस् भन्ने कामनासहित भगवान् शिव, देवी गौरी र विषहराको पूजा गरिन्छ। व्रतालुले पर्व अवधिभर दैनिक पूजा, कथा श्रवण, सामूहिक गायन तथा ‘फूललोढी’ गर्ने परम्परा छ।
पर्वको १२औँ दिन राति ‘टेमी’ लिने चलनसमेत छ। कपासको बत्तीको लप्काले देब्रे घुँडा डाम्ने यो परम्परालाई दाम्पत्य प्रेमसँग जोडिएको धार्मिक विश्वास छ। पछिल्ला वर्षमा भने नयाँ पुस्ताले घुँडा डाम्नुको सट्टा चन्दनको लेप लगाउने चलन अपनाउन थालेका छन्।
मधुश्रावणीमा नवविवाहिता महिलाहरू सखी–सहेलीसँग भेला भएर प्रणयगीत गाउँदै फूल खोज्न जाने ‘फूललोढी’ विधि गर्छन्। संकलन गरिएका बेलपत्र तथा फूलबाट भोलिपल्ट शिव, गौरी र विषहराको पूजा गरिन्छ।
मैथिल लोकसंस्कृतिका जानकारहरूका अनुसार मधुश्रावणी पर्वले दाम्पत्य प्रेमसँगै मैथिल संस्कृति, पारिवारिक सद्भाव र सामुदायिक सम्बन्धलाई समेत बलियो बनाउँदै आएको छ।
पहिले मिथिलाका केही निश्चित समुदायमा सीमित रहेको यो पर्व पछिल्ला वर्षहरूमा विभिन्न समुदायले समेत मनाउन थालेका छन्। यससँगै मधुश्रावणी मिथिलाको साझा सांस्कृतिक पर्वका रूपमा विकास हुँदै गएको बताइन्छ।













प्रतिक्रिया दिनुहोस्