जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १०:४१

मन्त्रालय गाभिएपछि बागमतीमा प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी


काठमाडौं, साउन ३० । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएसँगै प्रशासनिक कामलाई प्रभावकारी रूपमा अघि बढाउन प्रदेश सचिवहरूको क्षेत्रगत जिम्मेवारी तोकेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न नभएसम्मका लागि सम्बन्धित सचिवहरूलाई क्षेत्रगत जिम्मेवारी दिने निर्णय गरेको हो। मन्त्रालय गाभिएपछि उत्पन्न प्रशासनिक कार्यक्षेत्रको अन्योल हटाउँदै सेवा प्रवाहलाई निरन्तरता दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई तोकिएको छ।

त्यसैगरी उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य, अनिता निरौलालाई श्रम तथा यातायात र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी दिइएको छ।

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद, डा. सुमित्रा गौतमलाई स्वास्थ्य तथा खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी तोकिएको छ।

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा. केदार बराललाई वन तथा वातावरण तथा सुधिर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी दिइएको मन्त्री तामाङले जानकारी दिनुभएको छ।

मन्त्रालय पुनर्संरचनापछि संगठनात्मक संरचना टुंगो नलाग्दासम्मका लागि सचिवहरूको क्षेत्रगत जिम्मेवारी कायम रहने उहाँले बताउनुभएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएपछि भने मन्त्रालयको नयाँ संरचनाअनुसार जिम्मेवारीमा आवश्यक हेरफेर हुन सक्ने प्रदेश सरकारले जनाएको छ।