नुवाकोट, साउन ३० । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खसेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार टोखा–छहरे सडकखण्डमा काठमाडौं–दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–१ ख ००५२ नम्बरको बस र बा.प्र.०३-००१ ज ११७६ नम्बरको खाली इभी भ्यान भीरबाट खसेका हुन् ।
दुर्घटनामा बसमा रहेका पाँच जना महिला घाइते भएका छन् । घाइतेमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति र रामेछाप खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
यस्तै सर्लाही लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काडाँघारी बस्ने २५ वर्षीया सुजाता पोखरेल, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काडाँघारी बस्ने ६० वर्षीया जानु श्रेष्ठको अवस्था मध्यम रहेको छ ।
स्थानीय प्रत्यक्षदर्सीका अनुसार खाजा खानका लागि सडक छेउमा रोकेको बस आफैं गुडेर भ्यानलाई ठक्कर दिंदा दुर्घटना भएको हो । बसको ठक्करपछि बस र भ्यान सडकबाट करिब ३०र४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्