जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १२:०५

नुवाकोटमा बसले ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते


काठमाडौं, साउन ३० । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको ईभी माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनुभएको छ।

नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०/४० मिटर तल भिरमा खसेका थिए।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गर्नुभएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहनुभएको छ।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने करिब २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की करिब ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काँडाघारी बस्ने करिब ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते हुनुभएको छ।

प्रहरीका अनुसार तीनै जना घाइतेको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ र उहाँहरूको अवस्था मध्यम रहेको छ।

घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।