जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १९:५९

ओलीको स्पष्ट सन्देश : नेतृत्व छाड्दिनँ, अनुशासनमा नबस्नेले एमाले छाडे हुन्छ


इलाम, साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला आफूले नेतृत्व छाडेर पन्छिने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला उहाँले आफू अर्को महाधिवेशनसम्मका लागि कार्यकर्ताको अत्यधिक मतबाट निर्वाचित भएको स्मरण गराउँदै नेतृत्वबाट पछि नहट्ने बताउनुभएको हो।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई इलाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र देखिएको असन्तुष्टि र नेतृत्व परिवर्तनको मागप्रति असन्तुष्टि जनाउनुभयो। उहाँले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी आफूले पूरा गर्ने बताउनुभयो। “विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ, एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भनिएको छ, यो केही हुनेवाला छैन, अब केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिनेछ,” उहाँले भन्नुभयो।

पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने कुरा हुँदैन, पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ, अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन पालना गरे हुन्छ, चुप लागेर घरमा बस्ने भए बसे हुन्छ तर पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ,”

पार्टीभित्र अनुशासनहीनता बढेको भन्दै अध्यक्ष ओलीले नेतृत्व हटाउने विषयलाई हल्का ढङ्गले उठाइएको टिप्पणी गर्नुभयो। “अहिले अलिकति अनुशासनहीनता देखा परेको छ, पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन्, अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो।

पार्टीको नीति र अनुशासन विपरीत सार्वजनिक अभिव्यक्ति दिने प्रवृत्ति स्वीकार्य नहुने उहाँले बताउनुभयो। “पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने कुरा हुँदैन, पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ, अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन पालना गरे हुन्छ, चुप लागेर घरमा बस्ने भए बसे हुन्छ तर पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ,” उहाँले भन्नुभयो।

विधि, विधान र संस्थागत अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही गरिने पनि अध्यक्ष ओलीले चेतावनी दिनुभयो। “कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति, नियम, विधि र अनुशासन पालना गर्नुपर्छ। यो कुरा कार्यान्वयन गरेर गइन्छ,” उहाँले स्पष्ट पार्नुभयो।

उहाँले आफू कार्यकर्ताको अत्यधिक मतसहित पार्टीको नेतृत्वमा निर्वाचित भएको उल्लेख गर्दै बीचमै नेतृत्व छाड्ने कुनै अवस्था नरहेको बताउनुभयो। उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरूबाट नेतृत्वको विकल्पबारे बहस अघि बढिरहेका बेला ओलीको यस्तो भनाइ आएको हो।

सरकारप्रति ओलीको आक्रोश

अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले बालेन्द्र शाह नेतृत्वको सरकारले देशलाई सही दिशामा अघि बढाउन नसक्ने टिप्पणी गर्नुभयो।“हामी  विचलित हुनुपर्ने कुनै आवश्यकता छैन, यो देश तपाईँ–हाम्रो हो। तपाईँ–हामीले यो देशको माया गर्नुपर्छ, यो देश बनाउनुपर्छ,” उहाँले भन्नुभयो।

सरकारले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाउँदै उहाँले पक्राउ र मुद्दा चलाउने प्रयास भएको दाबी गर्नुभयो। “यो सरकारले प्रतिबन्ध लगायो, मलाई गिरफ्तार गर्‍यो, रमेश लेखकलाई गर्‍यो, अरू नेताहरूलाई गिरफ्तार गर्न थाल्यो। झुटा मुद्दा लगाउने कोसिस गरे,” उहाँले भन्नुभयो।

सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति समेत अध्यक्ष ओलीले प्रश्न उठाउनुभयो। उहाँले छानबिनको प्रक्रिया सबैका लागि समान हुनुपर्ने बताउँदै राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई लक्षित गर्न नहुने धारणा राख्नुभयो।

सुनसरीमा भएको घटनाको प्रसङ्ग उल्लेख गर्दै ओलीले सरकारमाथि सामाजिक तथा साम्प्रदायिक तनाव बढाएको बताउनुभयाे। “आफैँ विद्वेष, झगडा लगाउन खोज्ने, गोलबजार, सुनसरीमा विभिन्न किसिमको हिंसा भड्काइयो, आफ्ना कार्यकर्ता भेला गरेर फेरि एउटा सम्झौता गरेर अनि आन्दोलन साम्य पारे,” उहाँले उहाँले भन्नुभयो । 

प्रधानमन्त्री  बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भनि दिनुभएको अभिव्यक्तिप्रति समेत अध्यक्ष ओलीले आपत्ति जनाउनुभयो। राष्ट्रियता र सीमा जस्ता संवेदनशील विषयमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो।