काठमाडौं, साउन ३० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाप्रति प्रश्न उठाउँदै हिजो जनताका दैनिक समस्या देखाएर नेतृत्व परिवर्तनको माग गर्नेहरूले सत्तामा पुगेपछि न्यूनतम कार्यक्षमतासमेत देखाउन नसकेको टिप्पणी गर्नुभएको छ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत ‘हिजोको आक्रोश, आजको यथार्थ र निकासको बाटो’ शीर्षकमा धारणा सार्वजनिक गर्दै सडकका खाल्डादेखि सार्वजनिक सेवा, मलको अभाव र वैदेशिक रोजगारीका लागि युवाको बढ्दो पलायनसम्मका विषय उठाउनुभएको हाे ।
उहाँले विगतमा यिनै समस्यालाई आधार बनाएर नेतृत्व परिवर्तनको वातावरण बनाइएको भए पनि अहिले ती समस्या समाधान हुनुको साटो मुलुक थप जटिलतातर्फ अघि बढिरहेको बताउनुभएको छ। “हिजो निकै चर्को स्वरमा प्रश्नहरू उठाइएका थिए-सडकका खाल्डा पुर्न नसक्नेले ठूला सपना बाँड्ने ? सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने र एयरपोर्टमा युवाको लर्को लाग्ने अवस्थामा विकासका गफ दिने ?” पोखरेलले भन्नुभएकाे छ ।
तर अहिले ती आधारभूत समस्या समाधान हुन नसकेको र नागरिकको भविष्यप्रतिको आशासमेत कमजोर बन्दै गएको उहाँको टिप्पणी छ। पछिल्लो अवस्थाप्रति संकेत गर्दै पोखरेलले भूराजनीतिक असन्तुलन र असुरक्षा बढ्दै गएको, साम्प्रदायिक तथा धार्मिक सद्भाव खल्बलिएको र नागरिकमा निराशा तथा मानसिक तनाव बढिरहेको उल्लेख गर्नुभएको छ। “हिजो जुन समस्या देखाएर नेतृत्व बदल्ने हुटहुटी देखाइयो, आज सत्तामा पुग्दा न्यूनतम कार्यक्षमता किन देखिएन ? अब अरूलाई दोष थोपरेर उम्किने छुट कसैलाई छैन,” उहाँले भन्नुभएको छ।
पोखरेलले मुलुकको विद्यमान समस्या समाधानका लागि आर्थिक सबलीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा अघि सार्नुभएको छ। देश आर्थिक रूपमा सबल नभएसम्म आधारभूत समस्या पूर्ण रूपमा समाधान गर्न कठिन हुने यथार्थ स्वीकार गर्दै सरकारले इमानदार पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ।
उहाँले तत्काल नागरिकले भोगिरहेका समस्याको समाधानसँगै दीर्घकालीन विकास र समृद्धिका योजना अघि बढाउन सुझाव दिनुभएको छ। दैनिक समस्याको गाँठो फुकाउँदै विकासका दीर्घकालीन योजनालाई समानान्तर रूपमा अघि बढाउनुपर्ने उहाँले बताउनुभएको छ।
त्यसैगरी, संकटका बेला एक्लै अघि बढ्ने प्रवृत्ति त्यागेर सहमति र सहकार्यको राजनीतिमा फर्किनुपर्ने उहाँको धारणा छ। प्रशासनिक तथा सुरक्षा निकायलाई विश्वासमा लिएर संविधान र कानुनको पालना तथा आवश्यक सुधारमा जोड दिनुपर्ने उहाँले बताउनुभएको छ। “संकटमा एक्लै हिँड्ने हठ त्याग गरी सहमति र सहकार्यको राजनीतिमा फर्कियोस्, प्रशासनिक र सुरक्षा निकायलाई विश्वासमा लिई संविधान तथा कानुनको पालना र सुधारमा जोड दिइयोस्,” पोखरेलले भन्नुभएको छ।
उहाँले सुझाएका सुधारका उपाय कार्यान्वयन गर्न सके बारम्बार सडकबाट सरकार परिवर्तन गर्नुपर्ने अवस्था अन्त्य हुने दाबीसमेत गर्नुभएको छ। “यति गर्न सके सडकबाट सरकार बदल्नुपर्ने नियति दोहोरिने छैन,” उहाँले उल्लेख गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्