जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार ०७:३८

निरन्तर वर्षाले देशभरका विभिन्न सडकखण्ड अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीको आग्रह


काठमाडौं, साउन ३१। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक भासिने समस्या देखिएपछि सडक यातायात प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको हो।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुने प्रहरीले जनाएको छ।

त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा पनि यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरो खस्दा बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको छ।

यसैगरी, रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोका कारण भालुवाङ–लिवाङ सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेकाले प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न आग्रह गरेको छ। प्रहरीले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।