जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार ०७:५०

जाजरकोटमा पहिरोले घर भत्किँदा १० जना घाइते, तीन जना सम्पर्कविहीन


जाजरकोट, साउन ३१। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन्। पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरीका अनुसार साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घर भत्किएको तथा बस्ती जोखिममा परेको जानकारी पाएपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५० जनाको टोली परिचालन गरिएको छ।

पहिरोका कारण भेरी नगरपालिका–३ स्याला बस्ने पूर्णबहादुर विकको ढुंगा–माटोले बनेको छ कोठे दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा बस्दै आएका पाँच जनाको परिवार भने आफन्तको घरमा सुरक्षित बसेका छन्। सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा भने हाल मानिस बसोबास नगरेको प्रहरीले जनाएको छ।

पहिरोमा परी घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही रहेका छन्। आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा उहाँको छाती, टाउको र हातमा चोट लागेको थियो। गम्भीर अवस्थामा रहेका शाहीलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि साउन ३० गते राति नेपालगञ्ज रिफर गरिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। उहाँको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर अवस्थामा रहेकी उहाँलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।

भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि पहिरोमा परी घाइते भएका छन्। उहाँहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

यसैगरी, भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

सोही स्थानकी करिब २३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ। उहाँको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। भेरी नगरपालिका–२ रिसाङकी लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाहीलाई पनि सामान्य चोट लागेको छ। उहाँको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

भेरी नगरपालिका–२ की ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ। उहाँको पनि जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीन जना सम्पर्कविहीन

पहिरोपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।

उहाँहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। घटनास्थलमा पहिरोको जोखिम कायमै रहेकाले उद्धार तथा खोजी कार्यमा समेत आवश्यक सावधानी अपनाइएको प्रहरीले जनाएको छ।

पहिरोका कारण भएको क्षति तथा घटनाको थप विवरण संकलन भइरहेको नेपाल प्रहरीले जनाएको छ।