जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार ०७:५४

देशभर मनसुन सक्रिय, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


काठमाडौं, साउन ३१। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आगामी २४ घण्टामा अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपालनजिक रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्नेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुनसक्ने चेतावनी दिएको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, मौसमसम्बन्धी थप जानकारी तथा अद्यावधिक सूचनाका लागि महाशाखाबाट जारी हुने नियमित सूचना हेर्नसमेत अनुरोध गरिएको छ।