काठमाडौं, साउन ३१। रोल्पाको लुङ्ग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा गएराति परेको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा स्थानीय अन्दाजी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार वर्षाका कारण पहिरो खसेर घर पुरिएको सूचना आज बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौरमा प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
प्रहरी टोली घटनास्थल पुग्दा गुरुङ आफ्नै घरभित्र पहिरोले पुरिएर च्यापिएको अवस्थामा फेला पर्नुभएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा उहाँलाई उद्धार गरिएको थियो। उद्धारपछि उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो तथा सडक अवरुद्ध हुने क्रम जारी रहेकाले स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्