झापा, साउन ३१। वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जेई संक्रमितको संख्या १० पुगेको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पाँचजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।
जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एकजनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित १० जनामध्ये पाँचजनाको मृत्यु भएको, दुईजना उपचाररत रहेका र तीनजना उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये सात महिनाका एक बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभएको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्