काठमाडौं, साउन ३१। नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र गुटबन्दी, नेतृत्वको विरोध र निष्क्रिय गतिविधिमा संलग्न प्रवृत्तिको आलोचना गर्नुभएको छ। उहाँले पार्टीलाई गुट–उपगुटमा विभाजन गर्नेभन्दा एकताबद्ध, सुदृढ र गतिशील बनाउनुपर्ने बताउनुभएको हो।
सचिव बस्नेतले एमालेभित्र दुईखाले प्रवृत्ति रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार एउटा पङ्क्ति परिभाषित जिम्मेवारी पूरा गर्दै पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक खटिरहेको छ भने अर्को सानो समूह गुटबन्दी र पार्टी तथा नेतृत्वविरुद्धका गतिविधिमा केन्द्रित छ। बस्नेतले भन्नुभएको छ, “नेकपा एमालेभित्र दुई प्रवृत्ति देखिन्छन्, पहिलो प्रवृत्ति परिभाषित जिम्मेवारी पूरा गर्दै पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक खटिने आम पङ्क्ति।”
अर्को प्रवृत्तिको आलोचना गर्दै उहाँले व्यङ्ग्यात्मक शैलीमा भन्नुभएको छ, “अर्को, सानो घेराको पङ्क्ति जो गुटबन्दी गर्ने, खुराफाती गर्ने, पार्टी र नेतृत्वको विरोध गर्ने, पार्टी कार्यालयको चौरको घाँस माड्ने अनि क्यान्टिनको चियाको कपमा क्रान्तिको आँधीबेहरी सिर्जना गर्ने!”
अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो मन्तव्यपछि पार्टीभित्र असन्तुष्ट केही नेता-कार्यकर्तामा छटपटी देखिएको सङ्केत गर्दै बस्नेतले उनीहरूमाथि समेत व्यङ्ग्य गर्नुभएको छ। “हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पङ्क्तिमा रहेका केही मित्रहरूलाई कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै काइँकुइँ गर्न थालेको सुनिँदै छ,” उहाँले भन्नुभएको छ।
बस्नेतले अहिलेको आवश्यकता पार्टीभित्र गुट–उपगुट निर्माण गर्ने नभई संगठनलाई एकताबद्ध र सुदृढ बनाउने रहेको बताउनुभएको छ। पार्टीका नेता तथा कार्यकर्ताले आलोचना र गुटबन्दीमा समय खर्चिनुभन्दा जनताको पक्षमा काम गर्नुपर्ने उहाँको भनाइ छ। “आजको आवश्यकता गुट–उपगुटमा विभाजित हुने होइन, पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउने हो,” बस्नेतले भन्नुभएको छ।
उहाँले जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। “कुरा काटेर होइन, जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढ्ने हो,” उहाँले भन्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्