काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीले बोलाएको विशेष महाधिवेशन आफूले स्वीकार नगरेको बताउनुभएको छ। कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशनलाई आफूले नमान्ने भए पनि अदालतबाट हुने निर्णय भने स्वीकार गर्ने स्पष्ट पार्नुभएको हो।
उहाँले कांग्रेससँग सम्बन्धित विचाराधीन मुद्दामा अदालतले न्याय दिने विश्वाससमेत व्यक्त गर्नुभयो।
धर्मका विषयमा बोल्दै देउवाले आफू हिन्दू भएको बताउनुभयो। हिन्दू धर्मका विषयमा धारणा राख्न आग्रह गरिएपछि उहाँले आफू हिन्दू भएको र पशुपतिनाथ मन्दिरमा गएर पूजा गर्ने गरेको उल्लेख गर्नुभयो। ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’ म पशुपतिनाथ जान्छु, पूजा गर्छु,’ उहाँले भन्नुभयो।
देउवाले बौद्ध धर्मलाई पनि आफूले उत्तिकै सम्मान गर्ने बताउनुभयो। उहाँले बौद्ध धर्मलाई विश्वले स्वीकार गरेको उल्लेख गर्दै यसलाई वैज्ञानिक धर्मका रूपमा समेत लिइने बताउनुभयो।
नेपालमा प्राकृतिक धर्म मान्ने समुदायहरू पनि रहेको उल्लेख गर्दै उहाँले राई, लिम्बूलगायत सबै समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले नेपाल कस्तो हुने भन्ने कुरा अन्ततः नेपाली जनताको हातमा रहेको बताउनुभयो। आफूलाई नेता तथा कार्यकर्ताले दिएको साथ र सहयोग जीवनभर नबिर्सने उहाँको भनाइ थियो।













प्रतिक्रिया दिनुहोस्