जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १५:००

शेरबहादुर देउवा नेतृत्वमै कांग्रेसकाे १५ औँ महाधिवेशन गर्ने देउवा पक्षीय राष्ट्रिय भेलाको निर्णय


काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षको राष्ट्रिय भेलाले उहाँकै नेतृत्वमा पार्टीलाई एकताबद्ध गर्दै १५औँ महाधिवेशन सम्पन्न गर्ने दृढ विश्वास व्यक्त गरेको छ।  आज सम्पन्न भेलाले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नेलगायत पाँचबुँदे प्रस्ताव पारित गरेको हो।

भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनाअनुसार १५औँ महाधिवेशन सम्पन्न गरिने तथा पार्टी सभापति देउवाको सभापतित्वमा नै १५औँ महाधिवेशन सम्पन्न हुने उल्लेख गरेको छ। महाधिवेशनसम्म आवश्यक पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकहरूले समन्वय गर्दै अघि बढाउने निर्णयसमेत भेलाले गरेको छ।

त्यसैगरी भेलाले मुलुकमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राख्दै २०३३ सालमा महामानव बीपी कोइरालाले अघि सार्नुभएको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय तथा लोकतान्त्रिक शक्तिहरूसँग संवाद र सहकार्य गर्दै राष्ट्रियता तथा लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने निर्णय भेलाले गरेको छ।

भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने प्रस्ताव पनि पारित गरेको छ। नेपालमा कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा हरेक व्यक्ति र धार्मिक समुदायले आफ्नो धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्दै हिन्दू, बौद्ध, किरात तथा प्राकृतिक धर्मको संरक्षण गर्ने प्रतिबद्धता जनाइएको छ। सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषयलाई समेत भेलाले जोड दिएको छ।

त्यस्तै, वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमा व्यवस्था भएबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी निष्कर्षमा पुग्ने निर्णय पनि भेलाले गरेको छ।

भेलाले २०८३ साउन ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावहरूलाई समेत समेटी परिमार्जनसहित पारित प्रस्तावहरूलाई लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा रहेको समितिलाई दिएको छ।

उक्त समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र केन्द्रीय सदस्य रिता राना सदस्य तथा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुँडेल सहयोगी रहने निर्णय गरिएको छ।