जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १५:२६

एमालेले झापामा सुरु गर्याे ‘मिसन पार्टी जागरण’ अभियान, अध्यक्ष केपी ओलीद्वारा शुभारम्भ


 काठमाडौं, साउन ३१ । नेकपा एमालेले झापा जिल्ला कमिटीले पार्टी संगठनलाई थप चलायमान र सुदृढ बनाउने उद्देश्यसहित मिसन पार्टी जागरण अभियान’ सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिर्तामोडमा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो।

निर्वाचनपछि पार्टी संगठनलाई तल्लो तहसम्म थप सक्रिय बनाउने, नेता–कार्यकर्ताबीचको सम्बन्ध मजबुत बनाउने तथा जनतासँगको पार्टीको सम्बन्धलाई थप घनिष्ठ बनाउने उद्देश्यले एमालेले जिल्लास्तरमा ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरेको जनाएको छ । अध्यक्ष ओलीलाई प्रमुख अतिथि बनाएर शुभारम्भ गरिएको अभियानको शुभारम्भ कार्यक्रममा पार्टीका स‌ंगठन विभाग प्रमुख भानुभक्त ढकाल, काेशी प्रदेश इञ्चार्ज शेरधन राई लगायतको सहभागिता थियो । 

‘मिसन पार्टी जागरण’लाई एमालेले पार्टीको आन्तरिक संगठनलाई पुनःऊर्जाशील बनाउने अभियानका रूपमा अघि बढाएको हो । अभियानमार्फत पार्टीका स्थानीय कमिटी, नेता तथा कार्यकर्तालाई सक्रिय बनाउने, संगठनको अवस्था पहिचान गर्ने, जनताका समस्या र अपेक्षा बुझ्ने तथा पार्टी र जनताबिचको सम्बन्धलाई थप मजबुत बनाउने काम गरिनेछ।

यस अभियानले संगठनका तल्ला तहसम्म पुगेर पार्टीका गतिविधि प्रभावकारी बनाउने, निष्क्रिय संरचनालाई चलायमान बनाउने र नेता–कार्यकर्तालाई जिम्मेवारीअनुसार परिचालन गर्ने आधार तयार गर्ने एमालेले जनाएको छ । 

राजनीतिक दलका लागि संगठनको बलियो आधार निर्वाचनमा मात्रै नभई नियमित राजनीतिक गतिविधि र जनसम्बन्धमा पनि महत्त्वपूर्ण मानिन्छ। त्यसैले ‘मिसन पार्टी जागरण’ जस्ता अभियानले वडा, पालिका र जिल्ला तहका कमिटीलाई सक्रिय बनाउँदै संगठनको वास्तविक अवस्था बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ । अभियानका क्रममा कार्यकर्तासँग प्रत्यक्ष संवाद, संगठनका समस्या पहिचान, जिम्मेवारीको समीक्षा र स्थानीय तहमा जनतासँग सम्बन्ध विस्तारमा जोड दिने बताइएको छ । 

विशेष गरी निर्वाचनपछि देखिएका कमजोरीको समीक्षा गर्दै आगामी राजनीतिक प्रतिस्पर्धाका लागि कार्यकर्ता र संगठनलाई तयारी अवस्थामा राख्ने अवसरका रूपमा पनि यस अभियानलाई हेरिएको छ।

एमाले अध्यक्ष ओलीले चुनावपछि पहिलो पटक गृह जिल्ला झापा पुगेर अभियानको शुभारम्भ गर्नुभएको हो।  झापामा अभियानको सुरुवातसँगै एमालेले जिल्लाभर संगठनलाई थप सक्रिय बनाउने, पार्टीका गतिविधिलाई जनस्तरसम्म विस्तार गर्ने र नेता–कार्यकर्तालाई एउटै अभियानमा केन्द्रित गर्ने लक्ष्य अघि सारेको छ।