जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १५:५३

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, तत्काल उद्धार र राहतको लागि सरकारसँग आग्रह 


काठमाडौं, साउन ३१ । नेकपा एमालेले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले विज्ञप्ति जारी गरेर प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो।

एमालेले बाढीपहिरोमा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको र सडक अवरुद्ध हुँदा आवागमनसमेत प्रभावित भएको एमालेले जनाएको छ।

जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको तथा एक जना अझै बेपत्ता रहेको एमालेले जनाएको छ। पहिरोमा परी घाइते हुनुभएका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको तथा बेपत्तामध्ये ५४ वर्षीया उमासिंह खत्री, ७० वर्षीय भमीबहादुर कार्की र ८३ वर्षीया रति खत्रीको शव फेला परेको विज्ञप्तिमा उल्लेख छ। १४ वर्षीय हरिस विक अझै बेपत्ता रहेको तथा घटनामा सात जना घाइते र आठ घरमा क्षति पुगेको एमालेले जनाएको छ।

रोल्पामा गएको साता भएको भीषण पहिरोमा १७ जनाको मृत्यु भएको तथा सुनछहरी गाउँपालिका–२, फलबाङमा बिहीबार राति पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उहाँकी श्रीमती शनी घर्तीमगर र छिमेकी लली घर्तीमगर बेपत्ता हुनुभएको एमालेले जनाएको छ।

त्यस्तै, पोखरा महानगरपालिका–१४ स्थित विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिक खोलाले बगाउँदा १४ वर्षीय निकसन गुरुङ र १५ वर्षीय ओमन राई बेपत्ता भएको विज्ञप्तिमा उल्लेख छ।

एमालेका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरो र हिलोका कारण देशका प्रमुख सडकमा समेत सवारी आवागमन प्रभावित भएको छ। बीपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग, अरनिको राजमार्ग, जाजरकोट–डोल्पा सडक, मध्यपहाडी लोकमार्ग तथा सहिद मार्ग पहिरो र भूस्खलनका कारण पूर्णरूपमा बन्द भएका छन्।

एमालेले बाढीपहिरोबाट बेपत्ता भएकाहरूको खोजी, पीडितको उद्धार तथा राहत वितरण र अवरुद्ध सडक तत्काल सञ्चालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। साथै, उद्धार, राहत तथा सडक सञ्चालनका कार्यमा स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका स्थानीय कमिटी तथा कार्यकर्तालाई आह्वान गरेको छ।