काठमाडौं, साउन ३१। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको राष्ट्रिय भेलामा धर्मसम्बन्धी प्रस्तावको भाषालाई लिएर नेता विमलेन्द्र निधि र प्रकाशशरण महतबीच मञ्चमै विवाद भएको छ ।
भेलामा नेता दीपक कुइँकेलले पारित प्रस्ताव रोस्ट्रमबाट प्रस्तुत गरिरहँदा निधि उठेर रोस्ट्रमतर्फ जानुभएको थियो । त्यस क्रममा निधि र महतबीच कागज खोसाखोस भएको थियो । महतले निधिलाई रोकेर मञ्चमै फर्काउनुभएको थियो ।
धर्मसम्बन्धी प्रस्तावमा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’का रूपमा अघि बढाउने विषय समेटिएपछि निधिले त्यसमा असहमति जनाउनुभएको थियो । उहाँ धार्मिक स्वतन्त्रताको विषयलाई मात्र उल्लेख गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो ।
कांग्रेसले यसअघि नेपाललाई धार्मिक स्वतन्त्रताको पक्षमा रहेको भन्दै आएको अवस्थामा नयाँ प्रस्तावको भाषा त्यसअनुरूप नरहेको निधिको धारणा थियो ।
तर, देउवा समूहको भेलाले सनातन धर्मको संरक्षणलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ ।
पारित प्रस्तावमा नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ ।
प्रस्तावमा हिन्दू, बौद्ध, किरात तथा प्रकृति पूजक धर्म–संस्कृतिको संरक्षण गर्ने र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने उल्लेख छ ।
यसैबीच, भेलालाई सम्बोधन गर्दै निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताउँदै सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्