जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार २०:४१

पार्टी पुनर्गठनलाई ओली हटाउने मिसनका रूपमा बुझ्नु खतरनाक : शेरधन राई


काठमाडौं, साउन ३१। नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी पुनर्गठनलाई अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने अभियानका रूपमा मात्र बुझ्नु गलत र खतरनाक भएको बताउनुभएको छ।

झापामा आयोजित पार्टी जागरण शुभारम्भ कार्यक्रममा सचिव राईले पार्टीभित्र अध्यक्ष ओलीलाई हटाउने उद्देश्यसहितका गतिविधि भइरहेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। उहाँले अध्यक्षलाई हटाउनुपर्छ भन्ने पात्र र प्रवृत्तिलाई तिरस्कार गर्न पार्टी कार्यकर्तालाई आह्वान गर्नुभएको छ।

पार्टीलाई विभिन्न क्षेत्रमा सुधार गर्न सुझाव सङ्कलन गर्ने र कार्यकर्ताको भावना बुझ्ने क्रममा पुनर्गठनलाई केवल ‘केपी ओली हटाउने मिसन’का रूपमा बुझ्ने प्रवृत्ति देखिन थालेको उहाँले बताउनुभयो। यस्तो प्रवृत्ति पार्टीका लागि सबैभन्दा खतरनाक हुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “हामीले यतिबेला पार्टीलाई बहुआयामिक क्षेत्रमा सुधार गर्नका लागि सुझावहरू सङ्कलन गर्दै गर्दा, कार्यकर्ताहरूको भावना बुझ्दै गर्दा पुनर्गठन भनेको केपी ओली हटाउने मिसन मात्रै हो भन्ने स्थिति पनि देखा पर्दै छ, यो सबैभन्दा खतरनाक कुरा हो।”

सचिव राईले यस्ता पात्र, प्रवृत्ति र मिसनलाई पार्टीभित्रबाटै निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो।

भदौ २३ र २४ गतेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यसबेला अध्यक्ष तथा प्रधानमन्त्री कहाँ हुनुहुन्छ भन्ने विषयमा पार्टीभित्र र बाहिर अन्योल सिर्जना भएको स्मरण गर्नुभयो। चुनावको नतिजा सार्वजनिक हुनुअघि नै पार्टीभित्रबाट अध्यक्ष ओलीलाई हटाउने आवाज सुनिन थालेको उहाँले बताउनुभयो। “चुनावको नतिजा नआइसक्दै केपी ओलीलाई हटाउने कुरा पार्टीभित्रबाट हामीले सुन्नुपर्‍यो,” उहाँले भन्नुभयो।

उहाँले अहिले पार्टी नेतृत्वलाई जोगाएर लैजाने बेला भएको बताउनुभयो । यसको लागि सिङ्गो पार्टी पङ्क्ति एक भएर लाग्नु पर्नेमा राईले जोड दिनुभयो ।