एआई सिर्जित तस्बिर-
काठमाडौं, भदौ १ । नेपालको सुनसरीसँग सीमा जोडिएको भारतको बिहारस्थित वीरपुरमा विमानस्थल निर्माण तथा विस्तारको काम तीव्र पारिएको छ। कोशी ब्यारेजबाट करिब १० किलोमिटर दूरीमा रहेको विमानस्थललाई दुई वर्षभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको छ।
करिब ६४ करोड ८० लाख भारतीय रुपैयाँ लागतमा निर्माण भइरहेको विमानस्थलको हालको १ हजार २ सय मिटर रनवेलाई विस्तार गरी ३ किलोमिटरसम्म पुर्याउने योजना छ। विमानस्थलमा ट्याक्सीवे, एप्रन, टर्मिनल भवन, एटीसी टावर र फायर स्टेसनलगायतका संरचना निर्माण गरिनेछन्।
विमानस्थल विस्तारका लागि थप ८८.८३ एकड जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ। प्रभावित जग्गाधनीलाई मुआब्जा वितरणको कामसमेत भइरहेको भारतीय अधिकारीहरूले बताएका छन्।
वीरपुर विमानस्थललाई यात्रु तथा व्यावसायिक उडानका साथै उडान प्रशिक्षण र साहसिक खेलकुदको केन्द्रका रूपमा विकास गर्ने योजना भारतको छ। यहाँ फ्लाइङ ट्रेनिङ स्कुल, ग्लाइडिङ, स्काईडाइभिङ, प्याराग्लाइडिङ, प्यारासेलिङ, ड्रोन तथा एयरोमोडलिङजस्ता गतिविधि सञ्चालन गर्ने तयारी छ।
भारत–नेपाल सीमाबाट नजिक रहेको यो विमानस्थल सञ्चालनमा आएपछि बिहारका सुपौल, सहरसा, मधेपुरा, अररिया र मधुबनीलगायत क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। साथै नेपालको पूर्वी तराई र पहाडी क्षेत्रमा समेत व्यापार तथा पर्यटन गतिविधि बढ्ने सम्भावना देखिएको छ।














प्रतिक्रिया दिनुहोस्