जनता टाइम्स

१ भाद्र २०८३, सोमबार १०:०८

गोरखालीले ल्याब मागे, गृहमन्त्री गुरुङले भने– ‘भोट फिर्ता लैजानुस्’


काठमाडौं, १ भदौ । गोरखा क्षेत्र नम्बर १ का सांसद तथा गृहमन्त्री सुधन गुरुङले चुनावका बेला गरिएको प्रतिबद्धताअनुसार ल्याबका लागि बजेट नआएको भन्दै प्रश्न गरेपछि मतदातालाई ‘भोट फिर्ता लैजान’ आग्रह गर्नुभएको छ ।

शहीद लखन गाउँपालिका–९ का स्थानीयसँग आइतबार भएको भेटघाटका क्रममा उहाँले चार महिनामै सबै कामको परिणाम खोज्न नसकिने बताउँदै आफूलाई पाँच वर्षसम्म काम गर्ने अवसर दिन आग्रह गर्नुभएको हो ।

भेटघाटका क्रममा रास्वपा वडा सचिव खोपेन्द्र लामिछानेले चुनावका बेला गाउँ आउँदा ल्याबका लागि बजेट छुट्याउने प्रतिबद्धता जनाउनुभएको स्मरण गराउँदै बजेट विनियोजन नभएको विषयमा प्रश्न गर्नुभएको थियो ।

स्थानीयको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सरकारले पहिलो बजेट ल्याएको केही समय मात्र भएको बताउनुभयो । उहाँले आवश्यक योजनाको सूची माग गरिएको र प्राथमिकताका आधारमा काम अघि बढाइने बताउनुभयो ।

‘चार महिनामा बल्ल पहिलो बजेट हाम्रो आएको छ । चार महिनामा त फेरि कायापलट गर्न म सक्दिनँ, भोट लिएर जानुस्,’ उहाँले भन्नुभयो ।

त्यसपछि उहाँले आफूलाई विश्वास गर्न नसके आगामी निर्वाचनमा नजिताउन आग्रह गर्दै पाँच वर्षसम्म काम गरेर हेर्न आग्रह गर्नुभयो ।

‘मलाई तपाईंहरूले विश्वास गर्न सक्नुहुन्न भने मलाई नजिताउनुस् । मलाई पाँच वर्ष हेर्नुस्,’ उहाँले भन्नुभयो ।

स्थानीयले भने चुनावका क्रममा ल्याब निर्माणका लागि बजेट व्यवस्था गर्ने आश्वासन दिइएको भन्दै प्रतिबद्धता पूरा गर्न माग गरेका थिए ।

गृहमन्त्री गुरुङको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘भोट फिर्ता लैजानुस्’ भन्ने भनाइ चर्चामा आएको छ ।