काठमाडौं, भदौ १। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्यका प्रखर सर्जक तथा जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
अध्यक्ष ओलीले जनकवि श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताउँदै उहाँका कालजयी रचनाले नेपाली साहित्य र जनमानसमा कहिल्यै नमेटिने छाप छाडेको उल्लेख गर्नुभएको छ।
उहाँले ‘फूलको आँखामा फूलै संसार–काँडाको आँखामा काँडै संसार’ तथा ‘सयथरी बाजा एउटै ताल–सयथरी गोडा एउटै चाल’ जस्ता सयौँ कालजयी रचनामार्फत जनकवि श्रेष्ठले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउनुभएको स्मरण गर्नुभएको छ।
अध्यक्ष ओलीले जनकवि श्रेष्ठ भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँका अमर गीत तथा कविताहरू सधैँ गुञ्जिरहने विश्वास व्यक्त गर्नुभएको छ।
काव्य तथा कला क्षेत्रमा श्रेष्ठले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै अध्यक्ष ओलीले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै, शोकाकुल परिवारजन तथा साहित्यानुरागीहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्