काभ्रे, भदौ १। काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते हुनुभएको छ।
नेपाल प्रहरीका अनुसार पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन।
दुर्घटनामा घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि घटनास्थलमा प्रहरी टोली र एम्बुलेन्स परिचालन गरिएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्