काठमाडौं, भदौ १। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–भारतबीचको आपसी हित तथा पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष सेठलाई जङ्गी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो। त्यसपछि उहाँले जङ्गी अड्डा परिसरको निरीक्षणसमेत गर्नुभएको थियो।
भेटवार्ताका क्रममा दुई देशका सेनाबीच रहँदै आएको पारस्परिक सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।

यसैबीच भारतीय स्थल सेनाध्यक्ष सेठले जङ्गी अड्डा परिसरमा वृक्षारोपणसमेत गर्नुभएको छ। उहाँले परिसरमा रुद्राक्षको बिरुवा रोप्नुभएको हो।
नेपाल र भारतका सेनाबीच लामो समयदेखि रहँदै आएको आपसी सम्बन्धको निरन्तरताका रूपमा भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमणलाई हेरिएको छ। भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता तथा विभिन्न गतिविधिले दुई देशका सेनाबीचको पारस्परिक सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्