जनता टाइम्स

१ भाद्र २०८३, सोमबार १४:२४

बाढीपहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न पद्मा अर्यालको माग


काठमाडौं, भदौ १। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा पुनःस्थापनालाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले पछिल्लो समय बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै विपद्मा परेका नागरिकलाई राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने माग गर्नुभएको हो।

अर्यालले विशेषगरी रोल्पामा दुई दिनमै १८ जनाको ज्यान गएको घटनाले आफूहरूलाई अत्यन्त मर्माहत बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “रोल्पामा दुई दिनमा नै १८ जनाको ज्यान गएको छ। अन्यत्र पनि क्षति भएको छ। यो घटनाले हामीलाई मर्माहत बनाएको छ।”

प्राकृतिक विपद्का कारण घाइते भएका नागरिकको प्रभावकारी उपचार तथा विस्थापित परिवारको तत्काल पुनःस्थापना गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। “घाइतेको उपचार र विस्थापितको पुनःस्थापना गर्न राज्यसँग माग गर्दछु,” उहाँले भन्नुभयो, “अप्ठेरोमा परेको बेला राज्यले अभिभावकको भूमिका निर्वाह गरोस्।”

बाढीपहिरोका कारण विभिन्न स्थानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै अर्यालले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा विपद्पछिको पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभएको छ।

उहाँले विपद्का बेला नागरिकलाई राज्यको साथ र संरक्षणको अनुभूति हुने गरी राहत, उद्धार, उपचार तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ।