हेटौँडा, भदौ १। वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना नभए पछि मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो।
मुख्यमन्त्री बानियाँ गत साउन २० गते वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। तर सरकारको प्रमुख साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उहाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुअघि नै आवश्यक बहुमत नपुग्ने अवस्था देखिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत परीक्षणमा जानुभन्दा राजीनामा दिने निर्णय गर्नुभएको हो। उहाँले आज विश्वासको मत लिनको लागि प्रदेश सभा बैठक बोलाउनु भएको थियो ।
१०४ सदस्यीय वाग्मती प्रदेशसभामा सरकार गठन तथा विश्वासको मतका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ तथा सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसदको समर्थन मात्र रहेको थियो। आवश्यक बहुमतका लागि थप १५ सांसदको समर्थन जुटाउनुपर्ने अवस्था थियो।
यसैबीच सोमबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वाग्मती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने निर्णय गरेको थियो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार राप्रपाले विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको हो। वाग्मती प्रदेशसभामा राप्रपाका १३ सांसद हुनुहुन्छ।
यसअघि साउन ६ गते तत्कालीन सत्ता साझेदार नेकपा एमालेले सरकारमा सहभागी आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार संकटमा परेको थियो।
अल्पमतमा परेपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले भदाै ३ गते भित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो। सोहीअनुसार उहाँले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको थियो।
तर आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उहाँले विश्वासको मत परीक्षणमा जानुभन्दा राजीनामा दिने बाटो रोज्नुभएको हो। वाग्मती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भए पनि सरकार जोगाउन आवश्यक अन्य दलको समर्थन जुटाउन नसक्दा मुख्यमन्त्री बानियाँको कार्यकाल छोटिएको छ।
मुख्यमन्त्रीको राजीनामासँगै वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच पुनः सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ।
वाग्मतीमा नेकपा एमाले र नेकपा बिच सरकार बनाउने सहमति भएको छ । ती दुई दललाई सरकार बनाउन अन्य दलका कम्तिमा थप २ जना सांसदकाे समर्थन आवश्यक छ ।














प्रतिक्रिया दिनुहोस्