जनता टाइम्स

१ भाद्र २०८३, सोमबार १५:३८

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद


काठमाडौं, भदौ १। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। सोमबार प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ सांसदले मतदान गर्नुभएको हो।

लुम्बिनी प्रदेशसभामा हाल ८३ सदस्य कायम छन्। मतदानमा मुख्यमन्त्री आचार्यको विपक्षमा २६ मत परेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यहरू तटस्थ बस्नुभएको थियो।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्यहरूले विश्वासको मत दिनुभएको थियो। यी दलका सांसदहरूको समर्थनसँगै मुख्यमन्त्री आचार्यले सरकार सञ्चालनका लागि आवश्यक बहुमत प्राप्त गर्नुभएको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनमत पार्टीका सांसदहरूले भने मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्नुभएको थियो।

राप्रपाले भने विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेको थियो। राप्रपाकी प्रमुख सचेतक मिनाकुमारी श्रेष्ठले प्रदेशसभा बैठकमा पार्टी तटस्थ रहने जानकारी गराउनुभएको थियो।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्य संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन बाध्य हुनुभएको थियो। त्यसअनुसार उहाँले सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

मतदानबाट विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ। सरकारको पक्षमा नेकपासहितका दलको समर्थन कायम रहेकाले प्रदेश सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ।