काठमाडौं, भदौ १। सांसदहरूले उठाएका प्रश्न र जनसरोकारका विषयमा सरकारले बेवास्ता गरेको भन्दै प्रतिनिधि सभामा चर्किएको असन्तुष्टिपछि सभामुख डोलप्रसाद अर्याल सरकारसँग खराेरुपमा उत्रिनु भएकाे छ ।
अर्यालले सरकारलाई जवाफदेही बनाउन एकै दिन तीनवटा ‘रुलिङ’ गर्नुभएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा विपक्षी मात्र नभई सत्तापक्षका सांसदसमेत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उभिएपछि सभामुख अर्यालले प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्रालयसम्मलाई समयसीमासहित जवाफ दिन निर्देशन दिनुभएको हो।
सभामुख अर्यालले पहिलोपटक प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्थाअनुसार सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। “प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्थाबमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु,” सभामुख अर्यालले बैठकमा भन्नुभयो।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था भए पनि सरकारले सांसदका प्रश्नको जवाफ दिन चासो नदेखाएको भन्दै सांसदहरूले नियमापत्तिसमेत जनाउँदै आउनुभएको थियो। त्यसैप्रति ध्यानाकर्षण गराउँदै सभामुखले सरकारलाई संसद्प्रति जवाफदेही बन्न स्पष्ट निर्देशन दिनुभएको हो।
सोही बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानका भूकम्पपीडितको समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै बैठकमा उभिएर विरोध जनाउनुभएको थियो। उहाँले साउन २२ गते सरकारलाई दिएको ९ दिनकाे समयसीमा सकिँदासमेत कुनै जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो।
सांसद शर्माले सरकारबाट लिखित प्रतिबद्धता वा जवाफ नआएसम्म संसद्मा उभिइरहने अडान लिएपछि सभामुख अर्यालले उक्त विषयमा तीन दिनभित्र सदनलाई जानकारी गराउन सरकारलाई दोस्रो रुलिङ गर्नुभएको हो।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले आवश्यक पहल नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।
उहाँले अर्थ मन्त्रालयबाट बजेट विनियोजन भए पनि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाएका कारण मृतकका परिवारले शव नेपाल ल्याउने आशा गुमाउन थालेको बताउनुभएको थियो।“सरकारले कि उहाँ नेपाली नागरिक होइन भन्नुपर्यो, नत्र जवाफ नआउन्जेल म उभिइरहन्छु,” सांसद तामाङले बैठकमा भन्नुभएको थियो।
सांसद तामाङको मागलाई सम्बोधन गर्दै सभामुख अर्यालले सन्तोष राईको शव नेपाल ल्याउने विषयमा पनि तीन दिनभित्र सदनलाई जवाफ दिन सरकारलाई तेस्रो रुलिङ गर्नुभएको छ।
सांसदहरूले उठाएका जनसरोकारका विषयमा सरकारबाट समयमै जवाफ नआएको भन्दै सदनमा असन्तुष्टि बढिरहेका बेला सभामुखले लगातार तीनवटा रुलिङ गर्नुभएको हो। यसबाट संसद्मा उठेका प्रश्नलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति सभामुख अर्यालले कडा रूपमा हस्तक्षेप गर्नुभएको सन्देश गएको छ।
एकै दिन भएका तीन रुलिङले सरकारलाई संसद्प्रति थप उत्तरदायी बन्न दबाब बढाएको छ। साथै सांसदहरूले उठाएका विषयमा सम्बन्धित निकायले समयमै जवाफ नदिए सभामुखको तहबाट सरकारलाई जवाफदेही बनाउने अभ्यास थप प्रभावकारी बन्ने संकेतसमेत देखिएको छ।














प्रतिक्रिया दिनुहोस्