काठमाडौं, भदौ १। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै देशमा देखिएको ‘शासकीय अराजकता’ अन्त्य गर्न आग्रह गर्नुभएको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापन मन्तव्यमा उहाँले सरकारका सकारात्मक प्रयासलाई समर्थन गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाइरहने स्पष्ट पार्नुभयाे ।
थापाले केही समयअघि आफ्नो घरको गेट अगाडि निजी गाडी ल्याएर राखिएको घटनाबारे पनि बैठकमा विस्तृत रूपमा जानकारी गराउनुभयाे । उहाँका अनुसार जलाइएको घरको गेटमा राखिएको उक्त गाडी पछि ट्राफिक कार्यालय लगिएको थियो।
परिवारका सदस्यले गाडी कसको हो भन्ने जानकारी लिन खोज्दा तत्काल स्पष्ट जवाफ नदिइएको उहाँले बताउनुभएको छ। पछि एक व्यक्ति उक्त गाडी आफूले चलाएर ल्याएको भन्दै ट्राफिक कार्यालय पुगेको र परिचय खोज्दै जाँदा उहाँ प्रहरी कर्मचारी भएको थाहा भएको थापाले बताउनुभएको छ।
उहाँले निजी सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको बताउँदै राज्यका संयन्त्रलाई व्यक्तिगत इच्छा वा स्वार्थअनुसार प्रयोग गर्न नहुनेमा जोड दिनुभयाे ।
थापाले वर्तमान सरकारलाई आफूले पूर्ण रूपमा अस्वीकार नगरेको स्पष्ट पार्दै सरकारले केही राम्रो गर्ने प्रयास गरिरहेको बताउनुभयाे। सरकारका सकारात्मक कामलाई अघि बढ्न दिनुपर्ने उल्लेख गर्दै उहाँले कमजोरी देखिए सचेत गराउने र प्रश्न उठाउने काम भने नरोकिने बताउनुभयाे । “सरकारले राम्रो काम गर्ने प्रयास गरिरहेको छ भने त्यसलाई राम्रोसँग गर्न दिनुपर्छ, सरकारले गलत गर्दा सचेत गराउन छाड्नु हुँदैन,” उहाँले भयाे।
थापाले वर्तमान सरकार निर्वाध रूपमा पाँच वर्ष चल्नुपर्ने पक्षमा आफू रहेकोसमेत बताउनुभयाे। तर सरकार सञ्चालनका क्रममा संविधान, राज्य संयन्त्र र सार्वजनिक संस्थाको मर्यादा कायम हुनुपर्ने उहाँको धारणा छ।
यसैगरी सभापति थापाले सरकारले आलोचना, प्रश्न र निन्दाबीचको अन्तर छुट्याउन नसकेको टिप्पणी गर्नुभयाे। सार्वजनिक संस्थाहरू नाफामा गएको दाबी गरिएपछि आफूले त्यसको वास्तविक अवस्था र संरचनामाथि प्रश्न उठाउँदा त्यसलाई निन्दाका रूपमा लिइएको उहाँले बताउनुभयाे । “सरकारले आलोचना के हो, प्रश्न के हो र निन्दा के हो भन्ने कुराको फरक छुट्याउन सकेको छैन, त्यो मेरो आलोचना थियो, त्यो मेरो प्रश्न थियो, त्यो मेरो विवेचना थियो, त्यो मेरो सुझाव थियो, निन्दा थिएन,” थापाले भन्नुभयाे ।
उहाँले सार्वजनिक संस्थाहरू नाफामा गएको दाबी गर्दा आय–व्ययको वास्तविक संरचना हेर्नुपर्ने बताउनुभयाे। प्रतिलिटर ११० रुपैयाँमा दूध खरिद गरेर १०० रुपैयाँमा बिक्री गर्ने संरचना कायम रहेसम्म त्यस्ता संस्थालाई नाफामा लैजान कठिन हुने उहाँको तर्क छ। “त्यो मैले पनि सक्दिनँ, प्रधानमन्त्रीले पनि सक्नुहुन्न, मैले दोष दिएको होइन,” थापाले स्पष्ट पार्नुभयाे ।














प्रतिक्रिया दिनुहोस्