काठमाडौं, भदौ १। नेकपा एमालेका नेता सूर्य थापाले गृहमन्त्री सुधन गुरुङले गोरखाका मतदातालाई लक्षित गर्दै दिनुभएको ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्तिमाथि व्यङ्ग्य गर्नुभएको छ। गुरुङले आफूले चार महिनामै गोरखाको कायापलट गर्न नसक्ने भन्दै मतदातालाई भोट फिर्ता लैजान आग्रह गर्नुभएको प्रसंगलाई लिएर थापाले सामाजिक सञ्जालमार्फत कटाक्ष गर्नुभएको हो।
थापाले गृहमन्त्री गुरुङको अभिव्यक्तिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै प्रतिनिधि सभाका अन्य निर्वाचित सदस्यलाई समेत जनताको मत फिर्ता लैजान घोषणा गर्न चुनौती दिनुभएको छ। “सुधन गुरूङले झैँ अरू १८१ जनाले जनताको भोट जनतालाई फिर्ता लैजान घोषणा गर !” थापाले लेख्नुभएको छ।
उहाँले त्यतिमै सीमित नरही ती जनप्रतिनिधिलाई मतदान गर्ने मतदातालाई समेत ‘क्षमापूजा’ गर्न सुझाव दिनुभएको छ। “तिनलाई भोट हाल्नेले क्षमापूजा गर वा सिलौटामा हात राखेर लोहोराले थिचथाच पार!!” थापाको कटाक्ष छ।
गृहमन्त्री गुरुङले गोरखाका मतदातासँगको भेटघाटका क्रममा आफूले छोटो अवधिमै सबै समस्या समाधान गर्न नसक्ने बताउँदै चार महिनामा जिल्लाको कायापलट गर्न नसक्ने बताउँदै स्थानीयलाई आफूलाई दिएको मत फिर्ता लैजान भन्नुभएकाे थियाे । उक्त अभिव्यक्तिपछि उहाँको भनाइकाे आलाेचना भइरहकाे छ ।
गुरुङको सोही अभिव्यक्तिलाई आधार बनाएर एमाले नेता थापाले सरकार तथा जनप्रतिनिधिको जिम्मेवारी र जनताले दिएको मतप्रतिको जवाफदेहितामाथि व्यङ्ग्य गर्नुभएको हाे । जनताले दिएको मतलाई फिर्ता लैजान आग्रह गर्ने अभिव्यक्ति जनप्रतिनिधिको राजनीतिक जवाफदेहितासँग कतै जाेडिँदैन ।














प्रतिक्रिया दिनुहोस्