जनता टाइम्स

१ भाद्र २०८३, सोमबार २१:२०

सर्वाेच्चले छाडन् परमादेश दिएलगत्तै किशोर श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले दिइन् जाहेरी


काठमाडौं, भदौ १ । उपसभामुख रुबीकुमार ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको छ । जनआस्था साप्ताहिकमा आफ्नोबारेमा गलत समाचार प्रकाशित गरेको भन्दै उपसभामुख ठाकुरले प्रहरीमा जाहेरी दिनुभएको हो ।

प्रहरीले पक्राउ गरेपछि चुपचाप बस्नुभएकी उपसभामुख ठाकुर सर्वाेच्च अदालतले किशोर श्रेष्ठलाई छाड्न परमादेश दिएपछि प्रहरीमा उजुरी दर्ता गराउनु भएको हो । उहाँले यसअघि नै प्रेस काउन्सिलमा समेत उजुरी दिनुभएको थियो ।

यसअघि दीपिका सिंहको जाहेरीमा पत्रकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्च अदालतलले भखैरै श्रेष्ठलाई रिहा गर्ने आदेश दिएको छ । तर आजै अर्को जाहेरी दर्ता भएपछि श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरी बदला लिने सरकारको योजना रहेको अनुमान गरिएको छ ।

सर्वाेच्चबाट छाड्न परमादेश जारी भएपछि उपसभामुख ठाकुरको तर्फबाट सचिवालयका व्यक्तिहरु जाहेरी दिन जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेका थिए । जाहेरीमा प्रकाशित समाचारले आफ्नो इज्जत र प्रतिष्ठामा अपूरणीय क्षति पुर्‍याएको उल्लेख छ ।

जाहेरीमा भनिएको छ, ‘संवैधानिक पदमा आसिन उपसभामुख जस्तो जिम्मेवार ओहोदामा रहेकी ममाथि यस्तो व्यवहार केवल मेरो पीडा मात्र होइन प्रतिनिधिसभाको गरिमा र मुलुककै प्रतिष्ठामाथि सिधा आक्रमण हो भन्ने स्पष्ट देखिन्छ ।’ जाहेरीमा ठाकुरले दिपकजङ्गलाई आफूले रक्षाबन्धन बाँधिदिँदै आएको उल्लेख गर्नुभएको छ ।