जनता टाइम्स

८ पुष २०७६, मंगलवार २०:३०

चिनियाँ नागरिक पक्राउ प्रकरण : अश्लिल हर्कत गर्ने गरेको खुलासा


काठमाडौं, पुष ८

प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ ग¥यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभन्न क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको छ ।

“यो तत्कालको घटना होइन, प्रहरीले तीन महिनादेखि नै अनुसन्धान थालेको थियो, तथ्य सङ्कलन गरिसकेपछि मात्रै उनीहरुलाई सोमबार पक्राउ गरिएको हो”, परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भन्नुभयो । एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलो हो । यसअघि बैंकको एटिएम ह्याक गरेको आरोपमा सातजना चिनियाँ पक्राउ परेका थिए भने अन्य विभिन्न घटनामा केही चिनियाँ नागरिक पक्राउ परेका छन् ।

यसपटक उनीहरुलाई बूढानीलकण्ठ, बाँसबारी र मनमैंजुबाट नियन्त्रणमा लिइएको हो । विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिई संस्थागत काम गर्न पाउँदैन । चिनियाँ नागरिकहरुले यस्तो गतिविधि गरेको निक्कै समय भएको थियो ।

उनीहरुको गतिविधि शङ्कास्पद देखिएकाले स्थानीयवासीले नै प्रहरीलाई सूचना दिएको थियो । सोही आधारमा ब्यूरोको नेतृत्वमा प्रहरी टोली सूचना सङ्कलनमा खटिएको थियो । प्रहरीले आवश्यक प्रमाण सङ्कलनका क्रममा उनीहरुले कैफियत पत्ता लगाएपछि नेपालस्थित चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको बोगटीले बताउनुभयो ।

“उनीहरुले केही न केही गलत क्रियाकलाप गरिरहेको निष्कर्षका साथ पक्राउ गरिएको छ, वास्तविकता के छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ”, बोगटीले भन्नुभयो । प्रहरी स्रोतका अनुसार उनीहरुले नेपाल बसेर नेपालमै हानी गरेको तथ्य अहिलेसम्म फेला पारिएको छैन ।

चिनियाँ अर्थतन्त्रलाई असर पार्ने गतिविधि गरेको खुल्न आएको प्रहरीले जनाएको छ । “उनीहरुले जे गरिरहेका छन्, सबै अनलाइनबाटै गरिरहेका देखियो, अनुसन्धानपछि मात्रै खास कुरा पत्ता लाग्ला”, महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले भन्नुभयो । उहाँले विगतमा भएको बैंकको एटिएम ह्याकिङ्सँग उनीहरुको सम्बन्ध छ की छैन भन्नेतर्फसमेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका नेपाल बसेर अनलाइनमार्फत अश्लिल हर्कत गर्ने, अनलाइन जुवा खेलाउनेदेखि बैंक ह्याकिङ्मा संलग्न भएकासमेत परेको जनाइएको छ ।

उनीहरुमाथि आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको छ । स्थान अभाव हुँदा उनीहरुलाई विभिन्न प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ परेका चिनियाँ नागरिकमध्ये महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा ३८, बालाजु वृत्तमा १५, लैनचौर वृत्तमा ११, दरबारमार्ग वृत्तमा १४ जना राखिएको छ । बाँकी परिसरको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।