काठमाडौँ, भदौ २। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको छ।
कार्यसूचीअनुसार परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनुहुनेछ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) पेस गर्नुहुनेछ।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उहाँले नै संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पनि पेस गर्नुहुने कार्यसूची रहेको छ।
यसैबीच, आजै विभिन्न पाँच वटा संसदीय समितिको बैठकसमेत बस्नेछ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ।














प्रतिक्रिया दिनुहोस्