जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार ०७:०१

देशभर मनसुनी वायुको प्रभाव : ६ प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौ, भदाै २। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।