जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार ०७:०६

सरकारले दुर्गा प्रसाईँसँग वार्ता गर्दै, वार्ताका लागि बनायो समिति


काठमाडौँ, भदौ २। सरकारले दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ता गर्न औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहनुभएको छ।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच मागका विषयमा विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा महाअभियानले अघि सारेका मागबारे नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो।

सरकारले वार्ताका लागि गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि पठाइएको पत्रसमेत ग्रहण गर्नुभएको थियो। छलफलमा महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा सहभागी हुनुभएको थियो।