काठमाडौं, भदौ २। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सभामुखले सदनमा ‘मर्यादा’ कायम गर्न दिएको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ।
उहाँले ३७ दिनसम्म आफूले धैर्यता र सहनशीलता अपनाउँदै पीडितको पक्षमा विभिन्न सरकारी निकायमा पुगेर पहल गरेको उल्लेख गर्दै त्यसलाई पनि मर्यादाकै दायरामा बुझ्नुपर्ने बताउनुभएको छ।
सांसद तामाङले सामाजिक सञ्जालमार्फत सभामुखलाई प्रश्न गर्दै ३७ दिनसम्म पीडितकी श्रीमती र बुवालाई लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय तथा कहिले काउन्सिलरसम्म पुगेर आफूले पहल गरेको उल्लेख गर्नुभएको छ।
उहाँले सभामुखले भनेका हरेक कुरामा ‘हस्’ भन्दै टाउको हल्लाएर बस्नु आफूलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। ‘मर्यादा भनेको सभामुखज्यूले जे भन्नू हुन्छ हस भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन !’, तामाङकाे भनाइ छ ।
जनताको मुद्दामा काम ढिलासुस्ती भइरहेको विषयमा सदनमार्फत जवाफ खोज्नु आफ्नो अधिकार भएको उहाँको भनाइ छ। ‘सरकार भनेको जनताका हरेक मुद्दाप्रति जवाफदेही हुनुपर्छ,’ तामाङले भन्नुभएको छ।
उहाँले यसअघि प्रतिपक्षले बिना कारण सभामुखको आलोचना गर्दा सदनमा नियमापत्तिसमेत गरेको स्मरण गर्दै जनताको मुद्दामा भने सभामुखमार्फत सरकारसँग जवाफ मागेको स्पष्ट पार्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्