काठमाडौं, भदौ २। नेकपा (एमाले)का नेता सूर्य थापाले प्रतिनिधिसभाका सभामुखको भूमिकाप्रति तीव्र असन्तुष्टि जनाउँदै नियमावलीअनुसार अघि बढ्न आग्रह गर्नुभएको छ।
थापाले सभामुखले चार महिनासम्म केही विषय ढाकछोप गर्न प्रयास गरे पनि सफल हुन नसकेको बताउनुभएकाे छ । उहाँले भन्नुभएको छ, “सभामुखले चार महिना ढाकछोप गर्न लाख कोसिस गरे पनि सक्नुभएन।”
पछिल्लो प्रतिनिधिसभा नियमावलीलाई लिएर पनि उहाँले सभामुखमाथि गम्भीर प्रश्न उठाउनुभएको छ। “उहाँ कानुनको व्यवस्थालाई नियमावली बलजफ्ती पारित गराएर हटाउने रास्वपाकै परिचालित अवशेष हुनुहुन्छ,” थापाकाे भनाई छ ।
थापाले उक्त नियमावलीविरुद्ध न्यायालयको ढोका ढक्ढक्याएर चुनौती दिन कानुनविद् तथा सचेत नागरिक अग्रसर नहुनु बिडम्बना भएको बताउनुभएको छ।
प्रतिनिधिसभाको रोस्ट्रमबाट विवादास्पद अभिव्यक्ति दिएर बेपत्ता भएको भन्दै प्रधानमन्त्री बालेन्द्र साह प्रति उहाँले आक्रोश व्यक्त गर्नुभएको छ। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सभामुखले रुलिङ गर्नुभएको विषयलाई भने उहाँले सकारात्मक रूपमा लिनुभएको छ। “सभामुखको भूमिका बाबुको सम्पत्ति अंशमा प्राप्त भएको होइन, ताकि मनलाग्दो गर्न पाइयोस्,” थापाले भन्नुभएको छ।
उहाँले नियमावलीबमोजिम प्रश्नोत्तरको दिन निर्धारण र घोषणा गरेर सभामुखले आफ्नो भूमिका सच्याउन थालेको टिप्पणी गर्नुभएको छ। “राष्ट्रिय जिम्मेवारीको अनुभूति गरेर नियमावलीबमोजिम प्रश्नोत्तरको दिन निर्धारण र घोषणा गरेर ध्रुवे हात्ती नियन्त्रण गर्न थाल्नुभएको छ,” उहाँले उल्लेख गर्नुभएको छ।
थापाले राष्ट्रिय सम्पत्ति आगजनी गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले छानबिनका लागि सिफारिस गरेका सुलभ खरेल, कृष्णबहादुर कार्कीसहित १७ जना सांसदलाई निलम्बन गरी तत्काल कारबाही गर्नसमेत सभामुखसँग माग गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “अब २०८२ भदौ २४ गते राष्ट्रिय सम्पत्ति आगजनी गरेको भनी राष्ट्रिय मानव अधिकार आयोगले छानबिनका लागि सिफारिस गरेका १७ जना सांसदलाई निलम्बन गरी अविलम्ब कारबाही गर्न ढिलो नगर्नुहोस्।”














प्रतिक्रिया दिनुहोस्