जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार ११:२८

उपसभामुखमा पदीय मर्यादा र संविधानको भावना अनुरुपको आचरण देखिएन : शंकर पोखरेल


काठमाडौं, भदौ १ । नेकपा एमालेका सचिव शंकर पोखरेलले सभामुख र उपसभामुख निर्वाचित भएपछि तटस्थ भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। उहाँले उपसभामुखले आफ्नो दलप्रति निरपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संविधान र संसदीय प्रणालीको मर्मविपरीत हुने धारणा राख्नुभएको हो।

सभामुख र उपसभामुख फरक–फरक दलबाट निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उहाँले सभामुखको भूमिकाका विषयमा विगतमा प्रश्न उठेको र पछिल्लो समय सुधारको प्रयास देखिएको बताउनुभएको छ। तर, उपसभामुखको भूमिकामा समेत समस्या देखिएको उहाँको भनाइ छ।

उहाँले उपसभामुख राष्ट्रिय श्रम संस्कृति पार्टीको समानुपातिक कोटाबाट निर्वाचित सांसद रहेको उल्लेख गर्दै पदीय जिम्मेवारी निर्वाह गर्दा संविधान र संसदीय प्रणालीको मूल भावनालाई ध्यान दिनुपर्ने बताउनुभएको छ। “उपसभामुखले आफ्नो दलप्रति निरपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संवैधानिक व्यवस्था र संसदीय प्रणालीको मर्ममाथिकै प्रहार हो,” पोखरेलले भन्नुभएको छ।

उहाँले पदीय मर्यादा र संविधानको भावनाअनुरूपको आचरणमा उपसभामुखको पर्याप्त ध्यान पुग्न नसकेको देखिएको बताउँदै अनुभवको कमीका कारण यस्तो अवस्था आएको हुन सक्ने उल्लेख गर्नुभएको छ। यस विषयमा उपसभामुखको भूमिकामा सुधार आवश्यक रहेको उहाँको भनाइ छ। ‘पदीय मर्यादा र संविधानको भावना अनुरुपको आचरणमा उपसभामुखको ध्यान अनुभवको कमीले हुनसक्छ, पुगेको देखिदैन, यस विषयमा उहाँमा पनि सुधार आउनु जरुरी देखिन्छ’, पाेखरेलकाे धारणा छ । 

यद्यपि, संसदीय भूमिकामा निष्पक्षता भन्नाले आफ्नो दलको राजनीतिक मान्यता र विश्वासबाट पूर्णतः पलायन हुनु नभएको पनि पोखरेलले स्पष्ट पार्नुभएको छ।