काठमाडौं, भदौ २ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सामान्य ज्वरो आएका मन्त्रीलाई सरकारी खर्चमा हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मन्त्री सामान्य बिरामी हुँदा लाखौँ रुपैयाँ खर्च गरेर काठमाडौं ल्याउने तर सर्वसाधारण नागरिकले सामान्य औषधिसमेत नपाउने अवस्था विडम्बनापूर्ण भएको बताउनुभएको हो। उहाँले जनताले सिटामोलसमेत नपाइरहेको अवस्थामा मन्त्रीलाई ३०–३५ लाख रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाउनुभयो।
“जनताले सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्, काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ,” उहाँले भन्नुभयो, “मन्त्रीलाई काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन ?”
प्रमुख सचेतक थापाले बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भइरहेका नागरिकलाई सरकारले एउटा सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको बताउनुभयो। उहाँले यस्तो अवस्थालाई सरकारले दिने सुशासन भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नसमेत उठाउनुभयो।
उहाँले मन्त्री र कर्णालीका नागरिकको जीवनको समान महत्व रहेको कुरा सरकारले बिर्सन नहुने बताउँदै स्वास्थ्य उपचारमा विभेद गर्न नहुने धारणा राख्नुभयो। “मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ। मन्त्रीका लागि हेलिकप्टर पुग्ने, तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने ? के यही हो जनताको सरकार?” उहाँले प्रश्न गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्