काठमाडौं, भदौ २ । नेकपाका सांसद वर्षमान पुनले मनसुनजन्य विपत्मा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले विपतकाे बेला सरकारको प्राथमिकता नागरिकको उद्धार र राहत हुनुपर्नेमा मन्त्रीको बाेक्ने काममा राज्य संयन्त्र परिचालन भएको बताउनुभयाे ।
सांसद पुनले एकातिर विपतमा परेका नागरिकलाई उद्धार र राहतको आवश्यकता रहेको, अर्कोतिर रुघाखोकी लागेका मन्त्रीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन राज्यको स्रोत परिचालन गरिएको भन्दै प्रश्न उठाउनुभयो। “एकातिर विपत् छ, उद्धार गर्नुपर्ने छ, राहत पुर्याउनुपर्ने छ तर एकजना मन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ, अनि हेलिकप्टर पठाइन्छ। उद्धारमा काम हुँदैन, पुनःस्थापनाका लागि काम हुँदैन, त्यहाँ पुर्याउनुपर्ने सामग्री पुग्दैन र उहाँलाई सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौं ल्याइन्छ,” उहाँले भन्नुभयो।
मन्त्रीलाई काठमाडौं ल्याएपछि घरमै आराम गरिरहेको भनिएकोप्रति समेत उहाँले असन्तुष्टि जनाउनुभयो। “उहाँलाई के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ, यस्तो गैरजिम्मेवार राज्य चल्न सक्छ?” पुनले प्रश्न गर्नुभयो।
उहाँले प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूको कामको निगरानी र नियन्त्रण गर्न आग्रह गर्नुभयो। विपत्को अवस्था गम्भीर रहेकाले सरकारको सम्पूर्ण ध्यान उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ। “प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई नियन्त्रण गर्नुस्, विपत्को स्थिति के भइरहेको छ, त्यसका निम्ति काम गर्नुस्,” उहाँले भन्नुभयो।
सांसद पुनले गृहमन्त्रीसमेत विपत्को प्रतिकार्यमा सक्रिय हुन नसकेको बताउनुभयाे । गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा मतदाताले विगतका प्रतिबद्धता कार्यान्वयनको प्रश्न उठाउँदा तिमीहरुकाे भाेट फिर्ता लाैजाउ भन्दै गैरजिम्मेवार रुपमा प्रस्तुत भएकाे भन्दै पुनले असन्तुष्टि व्यक्त गर्नुभयाे । “गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानुहुन्छ, मतदाताहरू विगतमा गरेको प्रतिबद्धताको कार्यान्वयन खोज्छन्, उहाँ ‘तपाईंहरूको मत फिर्ता लैजानुस्’ भन्नुहुन्छ, हामी यहाँ गृहमन्त्रीलाई खोज्दै छौँ,” पुनले भन्नुभयो।
उहाँले विपतकाे अवस्था, सरकारको प्रतिकार्य तथा राहत र उद्धारका विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गर्नुभयो। “विपत् के भइरहेको छ, प्रतिकार्य के भइरहेको छ, राहत र उद्धार के भइरहेको छ, त्यसको जवाफ सदनमा गृहमन्त्रीले दिनुपर्छ,” उहाँले भन्नुभयो।
सरकारले दैनिक उपभोग्य वस्तु र सार्वजनिक सेवामा समेत नागरिकलाई लाइनमा बस्नुपर्ने अवस्था सिर्जना गरेको भन्दै पुनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउनुभयो। खाना पकाउने ग्यास, पासपोर्ट, मल र खानेपानीका लागि समेत नागरिकले लाइन बस्नुपरेको उहाँको भनाइ छ। “विगतकाले काम गरेनन् भन्ने, नयाँहरूले लाइनमा लाइन थप्ने हो ? ग्यासमा लाइन, मलको अभाव विगतकाले गर्दा भएको होइन। नयाँले व्यवस्थापन गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
सांसद पुनले सरकारको छिमेक नीतिप्रति समेत प्रश्न उठाउनुभयाे। उहाँले सरकारको छिमेक नीति कमजोर हुँदै गएको दाबी गर्दै सरकारको व्यवहार दोहोरो चरित्र वा अपरिपक्वताको परिणाम भएको हो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। “सरकारको छिमेक नीति कमजोर हुँदै गएको छ, सरकारको दोहोरो चरित्र हो वा अपरिपक्वता हो ? यसमा ध्यान दिनुपर्छ,” पुनले भन्नुभयो।














प्रतिक्रिया दिनुहोस्