जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार १३:३३

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले जिम्मेवारी पूरा गर्न सकेनन् : हर्क साम्पाङ


काठमाडौं, भदौ २ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ राईले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको बताउनुभएकाे छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मको कार्यसम्पादन र सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउनुभएको हो।

सांसद राईले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने भन्दै प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदले उठाएका जनताका प्रश्नको दफावार जवाफ दिनुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो, “अब हामीले संसद्मा बोल्छौँ, सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ भन्ने माग हिजोसम्म राख्यौँ। हिजो खुसी लाग्यो, सभामुखज्यूले निर्देशन पनि दिनुभएको छ। आशा गर्छु, हाम्रो प्रधानमन्त्रीज्यू आएर हाम्रो प्रश्नको-हाम्रो भन्नाले हाम्रो पर्सनल केही छैन, जनताको प्रश्नको-उत्तर उहाँले दफावार दिनुहुनेछ। प्रश्नको उत्तर उहाँले दिनैपर्छ।”

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै उहाँले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाउनुभयो। “प्रधानमन्त्री सीमा रक्षा गर्न नसक्ने, गृहमन्त्रीले सुरक्षा दिन नसक्ने, शान्ति सुव्यवस्था दिन नसक्ने, आपूर्ति मन्त्रीले ग्यास, मल दिन नसक्ने, श्रम रोजगार मन्त्रीले रोजगारी दिन नसक्ने, अर्थमन्त्रीले बजार दिन नसक्ने, राहत दिन नसक्ने, महँगी नियन्त्रण गर्न नसक्ने, सहकारी पीडितले पैसा फिर्ता गर्न नसक्ने”, उहाँले भन्नुभयाे । 

सांसद राईले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना, राहत वितरण र महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकार कमजोर देखिएको भन्दै आलाेचना गर्नुभयाे । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै उहाँले सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको भनिएको विषयमा स्थानीय बासिन्दालाई न्याय दिन माग गर्नुभयो।

त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उहाँले बचतकर्ताको रकम फिर्ता गराउन सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताउनुभयो। “सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन, सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ, अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन,” उहाँले भन्नुभयो।

विकास निर्माणका विषयमा समेत सरकारको ध्यानाकर्षण गराउँदै सांसद राईले सुनसरी–१ सहित देशभरका विकास आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभयो। उहाँले विकास निर्माणका काममा हुने ढिलाइ अन्त्य गरी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारको सेवा र कामकारबाही प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।