जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार १४:०२

भीमफेदी सडक दुर्घटना : घाइते उच्च अदालतका रजिष्टारकी पत्नीकाे ज्यान गयाे 


काठमाडौं, भदौ २ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा स्कारपियोमा सवार ६ जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो। चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो भने अन्य चार जनालाई नेपाली सेनाको हेडक्वार्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको थियो।

छाउनी अस्पतालमा उपचाररत रजिष्ट्रार तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

दुर्घटनामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्ट्रार ५१ वर्षीय तारादत्त बडु, चालक ३२ वर्षीय छुनिलाल चौधरी, बडुका छोरा २५ वर्षीय रितेन्द्र बडु र छोरी ३१ वर्षीया रिता बडु घाइते हुनुहुन्छ।

प्रहरीका अनुसार चालक चौधरी, मुख्य न्यायाधीश डाँगी, रजिष्ट्रार बडु र रितेन्द्रको अवस्था मध्यम रहेको छ। रिताको अवस्था भने गम्भीर रहेको छ।

दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको र सडकमा यातायात भने सुचारु रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।