काठमाडौं, भदौ २ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका अधिवेशनको निर्वाचन कार्यतालिका परिमार्जन गर्दै महाधिवेशन भने आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशनको मूल मिति यथावत् राख्दै वडा, गाउँ–नगर, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला तथा प्रदेश अधिवेशनको मिति हेरफेर गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार निर्वाचन प्रतिनिधिहरूलाई भदौ २ देखि १० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ भने भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई जिल्लामा खटाइनेछ। भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने र भदौ १६ देखि २० गतेसम्म वडास्तरीय अभिमुखीकरण तालिम सञ्चालन गरिनेछ।
त्यस्तै, सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गरिनेछ। देशभरका ६ हजार ७ सय ४३ वडामा भदौ २४ गते वडा अधिवेशन हुनेछ। त्यसबाट क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज ३ गते गर्ने कार्यतालिका तय गरिएको छ। असोज ३ गते महाधिवेशन प्रतिनिधि चयनसँगै कार्यसमिति निर्वाचनसमेत हुनेछ।
जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते सम्पन्न गरिनेछ। त्यसपछि कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा हुने निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण बनाउन तथा भदौको सुरुवाती वर्षात्का कारण वडा, गाउँ–नगर, उपमहानगर, महानगरपालिका र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखेर अन्य तहका अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको हो।
समितिले यसअघि नै विभिन्न देशमा नेपाली जनसम्पर्क समितिका अधिवेशन सम्पन्न भइसकेको जनाएको छ। अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरियालगायत १५ देशमा अधिवेशन सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा संविधान, प्रचलित कानुन, पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलालाई समेत ध्यानमा राख्दै पूर्वनिर्धारित मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढाइएको उल्लेख छ।














प्रतिक्रिया दिनुहोस्