जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार २१:३०

जनताको अधिकार खोस्ने प्रयास भइरहेको छ : प्रचण्ड


काठमाडौँ, भदौ २ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेका अधिकारमाथि सरकारबाटै हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ।

बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनको नेतृत्व गरेको पार्टी भएकाले अहिले पनि आफ्नो काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो।

पञ्चायती निरङ्कुशता र राजतन्त्रविरुद्ध भएका आन्दोलनको स्मरण गर्दै प्रचण्डले जनताले प्राप्त गरेका पहिचान र अधिकारमाथि प्रतिक्रान्तिकारी तथा प्रतिगामी शक्तिबाट चुनौती बढिरहेको दाबी गर्नुभयो। मजदुर, किसान र श्रमजीवी जनतामाथि राज्यकै तर्फबाट अन्याय भइरहेको उहाँको आरोप थियो।

यस्ता गतिविधि नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उहाँले त्यसको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको बताउनुभयो। उहाँले लाखौँ कार्यकर्ता र नेताहरू आफ्नो पार्टीसँग जोडिएको दाबीसमेत गर्नुभयो।

प्रचण्डले पुरानो पार्टीको संरचना विघटन गर्दै नयाँ पार्टी निर्माणको पहल आफूहरूले नै गरेको उल्लेख गर्नुभयो। त्यसलाई पार्टीको राजनीतिक यात्रामा महत्वपूर्ण घटनाका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।

गत भदौ २४ गतेको घटनापछि विचार, राजनीति र संगठनका आधारमा समान धारणा राख्ने शक्तिहरूबीच एकता आवश्यक रहेको निष्कर्षमा आफूहरू पुगेको उहाँले बताउनुभयो।

निर्वाचनका क्रममा पार्टी एकताको प्रक्रियामार्फत जनतामा नयाँ सन्देश दिन खोजिए पनि निर्वाचन सामान्य राजनीतिक वातावरणमा नभएको प्रचण्डको दाबी थियो।

‘भदौ २४ गतेको प्रतिक्रान्तिको निरन्तरता भएकाले यो निर्वाचन नियोजित रूपमा अघि बढाइएको जस्तो देखियो,’ उहाँले भन्नुभयो।