जनता टाइम्स

३ भाद्र २०८३, बुधबार १५:५५

रविले बोलाएको बैठकमा सांसद र मन्त्रीबीच सवाल–जवाफ


काठमाडौं, भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाउनुभएको संसदीय दलको बैठकमा सांसदहरूले निर्वाचन क्षेत्रका समस्या तथा सरकारको कामकारबाहीबारे प्रश्न उठाउनुभएको छ ।

बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकमा सांसद तथा मन्त्रीहरूको सहभागिता रहेको थियो । बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या, जनताबाट प्राप्त गुनासा तथा सरकारका कामकारबाहीबारे प्रश्न राख्नुभएको थियो । सांसदहरूले उठाउनुभएका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले बैठकमै जवाफ दिनुभएको थियो ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार बैठकमा सरकारका कामकारबाहीको समीक्षा पनि गरिएको थियो । सरकारले गरिरहेका कामबारे आम नागरिकमाझ पर्याप्त जानकारी पुग्न नसकेको विषयमा सांसदहरूले प्रश्न उठाउनुभएको थियो ।

बैठकमा ग्यास अभावको विषयसमेत उठेको थियो । पराजुलीका अनुसार वैशाखमा करिब २२ लाख सिलिन्डर ग्यास बजारमा पुगेकोमा साउनमा ४० लाख सिलिन्डर पुगे पनि बजारमा अभाव देखिएको विषयमा सांसदहरूले प्रश्न गर्नुभएको थियो ।

आपूर्ति बढ्दा पनि बजारमा ग्यास अभाव किन देखियो र त्यसलाई समाधान गर्न के गर्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी रास्वपा संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदललाई आवश्यकताअनुसार विधान संशोधनको प्रस्ताव तयार गर्न सात दिनको समय दिइएको छ ।

विधान संशोधनमा सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा कायम गर्ने, जनताप्रतिको जिम्मेवारी निर्वाह गर्ने, विपक्षी आवाजलाई प्रभावकारी रूपमा उठाउने तथा कानुन निर्माण प्रक्रियामा सांसदहरूको भूमिका सशक्त बनाउने विषय समेटिने बताइएको छ ।