काठमाडौं, भदौ ३ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मुलुक लोकतान्त्रिक इतिहासकै गम्भीर र कठिन मोडमा पुगेको दाबी गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताउँदै मुलुकमा ‘बालेन्द्रतन्त्र’ स्थापित गर्न खोजिएको बताउनुभएको हो।
नेता बादलले वर्तमान शासन व्यवस्थालाई विगतका ‘महेन्द्रतन्त्र’ र ‘ज्ञानेन्द्रतन्त्र’सँग तुलना गर्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित हुँदै गएको बताउनुभयाे। उहाँले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनजीविकामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो।
उहाँका अनुसार सरकारको विदेश नीति तथा राष्ट्रिय सुरक्षा रणनीतिमा ‘खतरनाक विचलन’ देखिएको छ। गत भदौमा भएको विध्वंसात्मक घटनामा टीओबीहरू अग्रपङ्क्तिमा देखिएको उल्लेख गर्दै उहाँले त्यसप्रति चीन सरकारले गम्भीर चासो र चेतावनी व्यक्त गरेको दाबी गर्नुभयो। चीनको आपत्तिपछि नेपालमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको समेत उहाँले बताउनुभयो।
तिब्बती गतिविधिका सम्बन्धमा समेत प्रश्न उठाउँदै नेता बादलले नेपालले निर्वासित तिब्बतीलाई मानवीय आधारमा शरण दिएको भए पनि राजनीतिक शरणार्थीका रूपमा मान्यता नदिएको स्मरण गराउनुभयो। केही शोधकर्ताले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको र गत भदौमा लुटिएका हतियार त्यहाँ लुकाइएको आशङ्का गरेको उहाँले उल्लेख गर्नुभयो।
सरकारले प्रेस तथा नागरिक स्वतन्त्रतामाथि समेत हस्तक्षेप गरिरहेको बताउँदै नेता बादलले पत्रकारलाई साइबर अपराधको मुद्दामा पक्राउ गरी हतकडी लगाउनेदेखि विद्यार्थी तथा पेसागत संगठनमाथि प्रतिबन्ध लगाउनेसम्मका गतिविधि निरंकुश शासनका उदाहरण भएको बताउनुभयो।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकारको पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभयाे। पार्टीको प्रमुख नेताको हैसियतले यस विषयमा ढिलाइ नगर्न आग्रह गर्दै उहाँले प्रधानमन्त्री शाहको कार्यशैलीमा सुधार नआए तथा लामिछानेले सरकार पुनर्गठनको पहल नगरे आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो।
नेता बादलले राष्ट्रियता, राष्ट्रिय जनजीविका र लोकतान्त्रिक मूल्य पुनर्स्थापनाका लागि विगतका आन्दोलनभन्दा पनि ठूलो जनआन्दोलनको सम्भावना रहेको दाबी गर्नुभयो। उहाँले आगामी दिनमा ‘७, ४७ र ६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी’ आउने चेतावनी दिनुभयो।
वर्तमान सरकारको शक्तिको स्रोतबारे टिप्पणी गर्दै उहाँले सरकार ‘तीन ए’ अर्थात् आर्मी, अल्गोरिदम र अमेरिकामा निर्भर रहेको दाबी गर्नुभयो। सरकारका पछिल्ला ‘जनविरोधी’ गतिविधिका कारण प्रधानमन्त्री शाहको शक्ति क्रमशः क्षय हुँदै गएको उहाँको भनाइ थियो।
नेता बादलले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट प्रहार भइरहेको दाबी गर्दै गत जेठ १७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले दिनुभएको जवाफप्रति समेत आपत्ति जनाउनुभयो। नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति राष्ट्रहितविपरीत र गैरजिम्मेवार भएको उहाँको आरोप थियो।
यसैगरी, रास्वपाभित्रको आन्तरिक सत्ता संघर्षले राष्ट्रिय सुरक्षामा समेत चिन्ता बढाएको उहाँले बताउनुभयो। रास्वपा सभापति लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री शाहको संसद्मा भएको आकस्मिक उपस्थितिबीच सम्बन्ध रहेको दाबी गर्दै उहाँले यसमा भू–राजनीतिक चलखेलको आशङ्कासमेत व्यक्त गर्नुभयो। ‘एकातिर भारतमा रास्वपा सभापतिले भव्य स्वागत पाउनु र अर्कोतिर नेपालमा प्रधानमन्त्रीले नेपालले भारतकाे भूमिम मिचेकाे बताउनु संयाेग मात्र हाेइन’ उहाँले प्रश्न गर्नुभयो, ‘कतै नेपाल सिक्किमीकरणको प्रक्रियामा त छैन ?’
सरकारका गतिविधिले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठाएको दाबी गर्दै नेता बादलले यस विषयमा सबै पक्षलाई गम्भीर बन्न आग्रह गर्नुभयो।
उहाँले वर्तमान सरकारको राजनीतिक आधारसमेत कमजोर हुँदै गएको दाबी गर्दै ‘पपुलिज्मको नशा, अल्गोरिदमको जादू, अपर्चुनिज्मको भ्रम र तीन ए को शक्ति क्रमशः क्षीण हुँदै गएको’ टिप्पणी गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्