जनता टाइम्स

३ भाद्र २०८३, बुधबार १७:५०

प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न रविलाई एमालेको सुझाव


काठमाडौं, भदौ ३ । नेकपा एमालेले प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुझाव दिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न लामिछानेलाई तत्काल पहल गर्न आग्रह गर्नुभएको हो ।

उहाँले रास्वपा सभापति लामिछानेले पार्टीको प्रमुख राजनीतिक नेताका रूपमा सरकार पुनर्गठनका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ थापाले भन्नुभयो ।

उहाँले सरकार पुनर्गठन नभए आन्दोलनको अवस्था आउन सक्ने चेतावनीसमेत दिनुभयो ।

राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाल सम्बोधन नभए २००७, २०४७ र २०६२/६३ सालका आन्दोलनभन्दा ठूलो जनआन्दोलन हुन सक्ने उहाँको भनाइ थियो ।

‘अन्तिम विकल्प बाँकी छ । अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल, २०६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ,’ उहाँले चेतावनी दिनुभयो ।